चैते धानका लागि सिँचाइ व्यवस्थापन प्रविधि
चैते धानका लागि सिँचाइ व्यवस्थापन प्रविधि
चैते धान सुख्खा मौसम (फाल्गुण–असार) मा खेती गरिने भएकाले यसको सफल उत्पादनका लागि नियमित, सन्तुलित र वैज्ञानिक सिँचाइ व्यवस्थापन अत्यन्त महत्वपूर्ण हुन्छ। उचित सिँचाइ व्यवस्थापनले उत्पादन वृद्धि गर्नुका साथै धानको गुणस्तरमा पनि सकारात्मक प्रभाव पार्छ। निम्न सिँचाइ व्यवस्थापन प्रविधिहरू अपनाउन सिफारिस गरिन्छः
१. खेत तयारी चरणमा पानी व्यवस्थापन
-
खेतलाई राम्रोसँग जोतेर सम्याउनु आवश्यक छ, जसले पानी समान रूपमा फैलिन मद्दत गर्दछ।
-
खेतको चारैतिर मजबुत आली (बाँध) निर्माण गरी पानी बाहिर जानबाट रोक्नुपर्छ।
-
रोपाइँ पूर्व खेतमा करिब ५–७ से.मी. पानी राखी राम्रोसँग हिलो तयार गर्नुपर्छ।
२. रोपाइँ पछिको सिँचाइ व्यवस्थापन
-
रोपाइँपछिका ५ देखि २० दिनसम्म खेतमा ३–५ से.मी. पानी कायम राख्नुपर्छ।
-
अत्यधिक पानीले जरामा अक्सिजनको कमी गराउन सक्छ, त्यसैले पानीको मात्रा सन्तुलित राख्न आवश्यक हुन्छ।
३. वृद्धि अवस्थाअनुसार सिँचाइ
-
प्रारम्भिक वृद्धि अवस्था (रोपाइँपछि २–३ हप्ता): ३–५ से.मी. पानी कायम राख्ने।
-
टिलरिङ (गाँज लाग्ने अवस्था): ३–५ से.मी. पानी राख्दा गाँजको राम्रो विकास हुन्छ।
-
दाना भर्ने अवस्था: ३–४ से.मी. पानी पर्याप्त हुन्छ।
४. महत्वपूर्ण (Critical) अवस्थाहरूमा सिँचाइ

चैते धानमा केही अवस्थाहरू अत्यन्त संवेदनशील हुन्छन्, जसलाई महत्वपूर्ण अवस्था भनिन्छ। यी अवस्थाहरूमा पानीको कमीले उत्पादनमा गम्भीर असर पार्न सक्छः
-
गाँज आउने अवस्था (Active tillering)
-
बाला पोटाउने अवस्था (Panicle initiation)
-
फुल्ने अवस्था (Flowering stage)
यी अवस्थाहरूमा खेतमा कम्तीमा ५ से.मी. पानी कायम राख्नुपर्छ। पानी अभाव हुँदा बाला सानो हुने, दाना कम लाग्ने तथा समग्र उत्पादन घट्ने सम्भावना हुन्छ।
५. Alternate Wetting and Drying (AWD) प्रविधि
-
खेतमा निरन्तर पानी जमाइराख्नु आवश्यक हुँदैन।
-
पानी सुक्न थालेपछि मात्र पुनः सिँचाइ गर्ने प्रविधिलाई AWD भनिन्छ।
-
यस प्रविधिको प्रयोगबाट करिब २०–३०% पानी बचत गर्न सकिन्छ।
६. कटानीपूर्व पानी व्यवस्थापन
-
धानमा बाला लाग्न सुरु भएदेखि दाना भरिने अवस्थासम्म खेतमा हल्का पानी कायम राख्नुपर्छ।
-
त्यसपछि क्रमशः पानी घटाउँदै धान पाक्ने बेलासम्म खेतबाट पानी पूर्ण रूपमा हटाउनुपर्छ।
उपरोक्त सिँचाइ व्यवस्थापन प्रविधिहरूको पालना गर्दा चैते धानको उत्पादन, गुणस्तर तथा पानी उपयोग दक्षता उल्लेखनीय रूपमा सुधार गर्न सकिन्छ।